काठमाडौं – सत्तारुढ गठबन्धनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । आज बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव माधव समूहविनै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो ।
माधव पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिनेगरी नेपाली काँग्रेस र माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रालयको भागबण्डा मिलाएका छन् । आज बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्र र जसपाले ७–७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारेको स्रोतले जनाएको छ ।
त्यस्तै, सत्ता गठबन्धनको एउटा हिस्सा राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको छ ।
बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति पनि भएको बताइएको छ ।
राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो पनि लागेको छ । गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि काँग्रेस र जसपाको बैठक बस्दैछ । काँग्रेस पदाधिकारी बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।
यस्तै, जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।
आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई मन्त्रालय र मन्त्री छनोटको जिम्मेवारी दिएका थिए । आजै मात्र माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग बसेर पावर सेयरिङ मिलाउन आफूनिकछहरुलाई अह्राएका थिए ।
देउवाले त्यसका लागि नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्कालाई खटाएका छन् ।
यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी तथा जसपाबाट उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईबीच गोप्य वार्ता भएको स्रोतले जनाएको छ ।