काठमाडौं – जापानमा जारी ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले अग्रता लिएको छ ।
टोकियोमा जारी ओलम्पिकअन्तर्गत आज दिउँसोसम्म कुल १०४ स्वर्णपदकको छिनोफानो भएको छ । जसमा ३७ राष्ट्रले स्वर्णपदक जितेका छन् ।
ओलम्पिकको सातौँ दिन जारी रहँदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र जापानलाई पछि पार्दै चीन शीर्ष स्थानमा पुगेको हो ।
चीनले १४ स्वर्णसहित कुल २९ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले १३ स्वर्णसहित ३६ पदक जितेको छ । यस्तै, तेस्रो स्थानको जापानले १३ स्वर्णसहित २२ पदक जितेको छ ।
रसियन ओलम्पिक टिम सात स्वर्णसहित २५ पदक जितेर चौथो स्थानमा छ । पाँचौँ स्थानमा रहेको अष्ट्रेलियाले सात स्वर्णसहित कुल १९ पदक जितेको छ ।
बेलायतले पाँच स्वर्ण जितेको छ । दक्षिण कोरियाले चार तथा जर्मनी र फ्रान्सले तीन-तीन स्वर्णपदक जितेका छन् । दुई स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, इटाली, स्लोभानिया, क्रोएसिया र कोसोभो छन् । त्यस्तै, एक स्वर्ण जित्ने राष्ट्रको संख्या २१ छ ।


