एजेन्सी - जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलको स्वर्ण ब्राजिलको यू–२३ टिमले जितेको छ । शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको छ ।
ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले १–१ गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । निसान स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको ३८ औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।
पहिलो हाफको इन्जुरी समयमा कुन्हाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । तर, खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा ब्राजिलका माल्कोम नायक बने । उनले खेलको १०८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–१ को जितसहित स्वर्ण पदक दिलाएका हुन् ।
ओलम्किमा ब्राजिलले लगातार दोस्रो स्वर्ण जितेको हो । यसअघि सन् २०१६ मा घरेलु मैदानमा भएको फाइनलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिलले स्वर्ण जितेको थियो ।