काठमाडौँ – नवगठित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति कठोर कदम चाल्नुपरेको बताउनुभएको छ ।
नेकपा एमाले पुनर्गठन र रुपान्तरणको सिलसिलामा वैधानिक विद्रोह गरी नयाँ पार्टी जन्माएको उहाँको भनाइ छ ।
एमाले समाजवादी पार्टी दर्तापछि जारी गरेको विज्ञप्तिमा नेपालले अध्यक्ष केपी शर्मा ओलीको क्रियाकलापका कारण पार्टी विभाजन निम्तिएको आरोप लगाउनुभएको छ ।
नेपालले विज्ञप्तिमा भन्नुभएको छ, ‘२०७८ साल भदौ १ गते उहाँले पार्टी नेता र सांसदहरुलाई कारवाही गरी गैरकानूनी रुपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि बाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पार्टीको ठूलो पंतिलाई अन्धकार भविष्यतिर धकेल्ने र निराशाको अवस्थामा पुग्न नदिन र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका लागि हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा एमालेको पुनर्गठन एववम् रुपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने वाध्यकारी अवस्था सिर्जना भएको छ ।’
अध्यक्ष केपी ओलीसँगको लामो अन्तरसंघर्षपछि अन्ततः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गर्नुभएको हो ।
एमालेबाट विभाजित भएको माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । एमाले समाजवादीको अध्यक्षमा माधव नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् ।
केन्द्रीय समिति ९५ सदस्यीय बनेको छ । अध्यक्ष र वरिष्ठ नेताबाहेक बाँकी सबै केन्द्रीय समिति सदस्यको भूमिकामा रहेका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । चुनाव चिन्हका बारेमा भने टुंगो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।
केपी ओलीसँग एकताका लागि हदैसम्मको प्रयास असफल भएपछि नयाँ पार्टी निर्माण गरिएको माधव पक्षका नेताहरुले बताएका छन् । तर नेकपा एमालेले भने एमालेसँग मिल्दोजुल्दो नाम राखेर पार्टी निर्माण गर्ने धृष्टता गरिएको भन्दै आपत्ति जनाएको छ ।
प्रमुख सचेतक विशाल भट्टराईले सर्वाेच्चको फागुन २३ को फैसलाको समेत विरुद्ध हुने एमालेसँग मिल्दोजुल्दो नाम राखिनु कानुनसम्वद्ध नहुने बताउनुभयो । उहाँले नवौँ महाधिवेशनमा माधव समूहबाट विजयी भएका कुनै पनि नेता नयाँ पार्टीमा जान नमानेकोले उहाँले खोलेको पार्टीलाई मुलुकले नपत्याउने दाबी गर्नुभयो ।
प्रतिपक्षमा रहेको सबैभन्दा ठूलो दल एमाले विभाजित भएपछि यसले मुलुकको राजनीतिमा कस्तो असर पार्ला भन्नेमा पनि तीव्र अड्कलबाजी भैरहेको छ । तर राजनीतिक विश्लेषक डा. लोकराज बरालले पार्टी फुट्ने र जुट्ने विषय नेपालको राजनीतिमा नौलौ नभएकाले एमाले विभाजनले पनि मुलुकमा ठूलो असर नपार्ने बताउनुभयो ।
कतिपयले मधेशवादी दल जसपा र प्रमुख विपक्षी दल एमाले फुटेपछि मुलुकको लोकतन्त्र र राष्ट्रियता खतरामा पर्न सक्ने विश्लेषण पनि गरिरहेका छन् । तर बराल त्यसमा सहमत हुनुहुन्न । भारतलाई गाली गरे मात्रै राष्ट्रियता बलियो हुन्छ भन्ने मनोविज्ञाज त्याग्न जरुरी रहेको उहाँले बताउनुभयो । मुलुकको विकासले मात्रै राष्ट्रियता बलियो हुने उहाँले बताउनुभयो ।
राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी देउवा सरकारले अध्यादेश ल्याइदिएकै दिन एमाले फुटेको छ । यस्तै जनता समाजवादी पार्टीको महन्थ समूहले पनि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ । दुई ठूला पार्टीलाई विभाजन गर्ने मनसायका साथ ल्याइएको अध्यादेशको सर्वत्र विरोध भइरहेको छ ।