काठमाडौँ – नेकपा एमालेले माओवादी कार्यकर्ताको रुपमा प्रस्तुत भएर एमालेका विरुद्ध षडयन्त्र नगर्न सभामुख अग्नि सापकोटालाई चेतावनी दिएको छ ।
सभामुख पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने अब सापकोटाले रोज्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले बताउनुभयो ।
१४ सांसदलाई पदमुक्त गर्न एमालेले पत्र लेखेको तीन दिन बितिसक्दा पनि सूचना टाँस नगरेपछि अध्यक्ष ओली सभामुखप्रति आक्रोशित बन्नुभएको हो ।
अझै कागजपत्र हेर्छु भनेको भन्दै ओलीले कागजपत्र हेर्नलाई सभामुख न्यायाधीश नरहेको बताउनुभयो ।
माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न ओलीले सभामुख सापकोटालाई चेतावनी दिनुभयो ।
ओलीले सभामुखले सूचना टाँस नगरेसम्म १४ सांसदको पद कायमै रहने र नयाँ दल दर्ता भएपछि उनीहरुले दल त्याग गरेको नमानिने गरी एमालेविरुद्ध षडयन्त्र गरे सदन चल्न नदिने चेतावनी पनि दिनुभयो ।
सभामुख सापकोटालाई सदन चलाउनु छ कि छैन भन्दै ओलीले प्रश्न गर्नुभयो । एउटा पार्टीको कार्यकर्ता भएर सभामुखमा रहिरहन नसकिने ओलीले चेतावनी दिनुभयो ।
पार्टीले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई तत्काल प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको सूचना टाँस्न एमालेले सभामुख अग्नि सापकोटालाई दबाब दिइरहेको छ ।
एमालेको तर्फबाट आज प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायतका नेताहरुले पनि सभामुखलाई भेटेरै माओवादी र जसपाले कारबाही गरेका सांसदलाई २४ घण्टाभित्रै पदमुक्त गरेको नजिर पेस गरेर एमालेविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।
सभामुखलाई कानूनको कार्यान्वयन गर्नेबाहेक अरु विकल्प नरहेको प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।
कुनै दलले सांसदलाई पदबाट हटाउने निर्णय गरेर पत्र पठाए संसद चलेका बेला १५ दिनभित्र सभामुखले सदनलाई जानकारी गराउने प्रावधान छ । तर यदि संसद चलेको छैन भने संसद सचिवालयले सूचना टाँस गर्नुपर्छ ।
यो १५ दिनको अवधिभित्र कारबाही गरेका १४ सांसदले नयाँ दल दर्ता गरे उनीहरुले दल त्याग गरेको नमानिने भएकोले तत्काल सूचना टाँस गर्न एमालेले दबाब बढाएको हो ।
यता सभामुख सापकोटाले भने आफूले कानुन अनुसार प्रक्रिया अघि बढाउने जवाफ एमालेलाई दिनुभएको छ ।
एमालेले सभामुख सापकोटा सूचना टाँस नगरेर एमालेविरुद्ध षडयन्त्र गर्ने पक्षमा रहेको आरोप लगाइरहेको छ ।
यता सत्ता गठबन्धनले नयाँ दल दर्ता गराएर माधव नेपाल समूहलाई सरकारमा ल्याउने प्रयासस्वरुप राजनीतिक घटनाक्रम विकास गराइरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभयो ।
अध्यादेश ल्याएर एमाले फुटाइएको प्रसंगमा प्रचण्डले अहिलेको सरकारले ल्याएको अध्यादेश र विगतमा ओली सरकारले ल्याएको अध्यादेशमा आकाश जमिनको फरक रहेको बताउनुभयो ।
ओलीले संविधान सिध्याउन र देउवाले संविधानको रक्षा गर्न राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको जिकिर प्रचण्डले बताउनुभयो ।
प्रचण्डले संविधानको रक्षाका लागि अध्यादेश ल्याइएको भने पनि अहिले एमाले फुटाउने मनसायका साथ अध्यादेश जारी भएको कुरा लुकेको छैन ।
आफूले गर्दा त्यही काम संविधानको रक्षाका लागि हुने र अरुले गर्दा संविधानको हत्याका लागि हुने प्रचण्डको तर्कलाई धेरैले आलोचनाको विषय मानेका छन् ।