काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताउनुभएको छ ।
एमालेको नवौँ महाधिवेशनपछि अहंकारी गुटले नेतृत्व कब्जा गरेको र अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको उहाँले बताउनुभयो ।
भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किनुभएका नेता खनालले त्रिभुवन विमानस्थलमा भन्नुभयो, ‘कम्युनिस्ट आन्दोलन विर्सजनमा जाने खतरा भएकाले विद्रोह गर्नुपरेको हो । यो विद्रोह नवनिर्माणका निम्ति हो ।’
ओलीको चर्को आलोचना गरेका उनले एमालेको नवौँ महाधिवेशनसम्म आफूहरुले विकास गरेको क्रन्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई पुनर्स्थापित गर्न जरुरी भएको बताउनुभयो । त्यसका लागि एमालेमै बसेर अन्तर संघर्ष गरेपनि जब्बर भएर बसेको दक्षिणपन्थी अवसरवाद, गुटवाद र व्यक्तिवादले नदिएको उहाँले बताउनुभयो ।
खनालले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’
पूर्वप्रधानमन्त्री खनालले उपचारका लागि भारत जाँदा भारी मन लिएर गएको आफू जोशिलो भएर फर्किएको बताउनुभयो । आफू उपचारका क्रममा रहँदा सर्वोच्च अदालतले (संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने) ऐतिहासिक फैसला गरेको उहाँले बताउनुभयो ।