काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ ।
मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताउनुभएको हो ।
मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उहाँले भन्नुभयो ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’यस्तै सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताउनुभयो ।
यस्तै, अध्यक्ष नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताउनुभएको छ । माओवादी केन्द्र, नेकपा (एस)सहित कम्युनिस्ट पार्टीबीच एकता गर्ने भनिएका बेला उहाँको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।
तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताउनुभयो । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ ।