काठमाडौँ । सरकारले अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्दार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिबार (आज) बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
योसँगै अफगानिस्तानमा अव उद्दारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दावी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्दारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताउनुभयो।
परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्दारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यस अघि नै उद्दार गरिएको थियो ।
अफगानिस्तानमा तालिबानले अगस्ट १५ मा त्यहाँको सत्ता कब्जा गरेपछि अधिकांश देशका नागरिकहरु स्वदेश फर्किएका छन् । कतिपय देशले तालिबान समूह काबुल प्रवेश गरेपछि नै आफ्ना नागरिकलाई आपतकालीन रुपमा स्वदेश फिर्ता गरेका थिए ।