काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पहिलो जित दर्ता गरेको छ । सुपर १२ को समूह २ अन्तर्गत अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतले तीन खेलमा पहिलो जित दर्ता गरेको हो ।
भारतले पाकिस्तान र न्यूजिल्यान्डसँग पराजित भएको थियो । जितसँगै भारतले सेमिफाइनलको सम्भावना जिवितै राखेको छ । यता चार खेल खेलेको अफगानिस्तानको यो दोस्रो पराजय हो । यस अघि अफगानिस्तानले पाकिस्तानसँग हार ब्योहोरेको थियो । तर उसले स्कटल्यान्ड र नामिवियालाई पराजित गरेको थियो ।
बुधबारको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ४४ रन जोड्न सक्यो । यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको भारतले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ओभरमा दुई विकेट गुमाएर २ सय १० रन जोडेको थियो ।
आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत न्यूूजिल्यान्डले स्कटल्यान्डमाथि १६ रनको संघर्षपूर्ण जित निकालेको छ । सुपर १२ को समूह २ अन्तर्गत अबुधावीमा बुधबार भएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन मात्र जोड्न सक्यो ।
यस अघि पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । तीन खेल खेलेको न्यूजिल्यान्डको यो दोस्रो जित हो । जितसंँगै न्यूजिल्यान्डले सेमिफाइनलको सम्भावना कायमै राखेको छ । यस अघि पाकिस्तानसँग पराजित भएपछि न्यूजिल्यान्डले भारतमाथि जित निकालेको थियो । स्कटल्यान्डको यो लगातार तेस्रो पराजय हो ।