काठमाडौँ । स्कटल्यान्डलाई ८ विकेटले पराजित गर्दै भारतले आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राखेको छ । स्कटल्यान्डले दिएको ८६ रनको झिनो लक्ष्य भारतले ६ ओभर ३ बलमा केवल दुई विकेटको क्षतिमा पुरा गर्दै अन्तिम चारको सम्भावना जिवितै राखेको हो ।
भारतलाई जित दिलाउने क्रममा केएल राहुलले ५० रन रोहित शर्माले ३० रन जोडे । स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट हात पारे । यस अघि ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन बनाउन बताएको थियो ।
जितसँगै भारतले चार खेलबाट चार अंक जोडेको छ । भारतले दुई खेलमा जित र दुई खेलमा पराजय भोगेको छ । यस समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा रहेको छ ।
अफगानिस्तानको पनि चार खेलमा चार अंक छ । तर रनरेटमा भारत अघि छ । अब भारतले सेमिफाइनलमा प्रवेशका लागि नामिवियालाई ठूलो अन्तरले पराजित गर्नुपर्छ साथै अफगानिस्तानले न्यूजिल्यान्डमाथि जित निकाल्नु पर्छ । साथै रनरेट भारतको पक्षमा हुनुपर्ने छ ।