काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङविरुद्ध ६ विकेटको पराजय भोगेको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गर्यो ।
हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रनको योगदान गरिन् । कप्तान केरी चनले १७ तथा नताशा माइल्सले १६ रन जोडिन् । इमा लाईले १३ रन जोड्दा शनजिन शहजाद ७ तथा यासमिन दासवानी २ रनमा आउट भए ।
नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक–एक विकेट हात पारे ।
यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको थियो ।
नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित ३१ रन जोडिन् । काजल श्रेष्ठले २४ बल खेल्दै केवल ४ रन जोडिन् ।
ओपनर कविता कँुवर पहिलो ओभरको दोस्रो बलमै आउट भइन् । बेट्टी चनले कवितालाई मारिको हिलबाट क्याच आउट गराएकी थिइन् ।
नेपालले ६ ओभरमा १४ रन जोड्दा एक विकेट गुमाएको थियो । बोर्डमा २१ रन हुदा नेपालले दुई विकेट गुमाएपनि सीता र इन्दुको जोडीले तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए ।
हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे ।
अब नेपाली टोलीले टी–२० विश्व कप छनोटको दोस्रो खेलमा यही ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।