काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले पहिलो जित निकालेको छ । आज भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरे । तर, च्यासलले गोलका लागि दोस्रो हाफसम्म कुर्नु परेको थियो । पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
तर, खेलको ४९ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाए । कमल श्रेष्ठको पासमा पेनाल्टी एरियाको एजबाट उनले टप कर्नरमा सुन्दर गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो ।
यस जितसँगै च्यासलले दुई खेलमा ३ अंक जोडेको छ । च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ । च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको थियो ।
एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
लिग अन्तर्गत नै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र हिमालयनबीचको खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।