काठमाडौँ – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको संकेत गर्नुभएको छ । यद्यपि दलहरूबीचको सहमतिबिना महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको उहाँले बताउनुभयो ।
आज चितवनमा पार्टी निकट प्रेस सेन्टर नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा प्रचण्डले महाअभियोग प्रस्तावबारे दलहरूबीच समझदारी सिर्जना गरेर अघि बढ्ने बताउनुभयो ।
दलहरूबीचको सहमतीबिना जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको पनि प्रचण्डले बताउनुभयो । उहाँले राजनीतिक दलहरूको सहमति र समझदारी नभई एमसीसीबारे संसद्ले निर्णय लिने अवस्था पनि नरहेको प्रष्ट पार्नुभयो ।
हिजो सत्तासाझेदार दलका सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गर्ने गृहकार्य दलहरूबीच भइरहेको खुलासा गरेका थिए । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारी र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले अब बस्ने संसद बैठकमा महाअभियोगको विषय प्रवेश पाउने बताएका थिए ।
सांसद बिडारीले त झन जबरालाई महाअभियोग लगाउनकै लागि आगामी मंसिर २८ गते संसद बैठक आह्वान गरिएको खुलासा गर्नुभएको थियो । प्रधानन्यायाधीशमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने जिकिर पनि बिडारीको थियो ।
सांसदरूको यस्तो खुलासापछि प्रचण्डले आज महाअभियोगबारे के गर्ने भन्नेमा दलहरूबीच समझदारी गरेर मात्रै अघि बढ्ने स्पष्टीकरण दिनुभएको हो । प्रचण्डले अहिलेको गठबन्धन भत्काउने प्रयास सुरु भएको पनि बताउनुभयो ।
चितवनमा हालै दसौँ राष्ट्रिय महाधिवेशन गरेपछि एमाले पार्टी मण्डलेहरु, पञ्चायती र निरंकुशतावादीको मोर्चामा पतन भएको दाहालको टिप्पणी छ ।
प्रधानन्यायाधीश प्रकरण र एमसीसीको विषयमा प्रचण्डले अर्काे राजनीतिक जोखिम मोल्ने तयारी गरिरहेको राजनीतिक वृत्तमा चर्चा छ । आगामी मंसिर २८ गते बोलाइएको संसद बैठकपछि देशको राजनीति नयाँ मोडमा धकेलिने सम्भावनाहरू क्षितिजमा देखिएका छन् ।