काठमाडौँ । पछिल्ला केही हप्ताबाट निरन्तर ओरालो लाग्दै आएको सेयर बजार यो साता पनि त्यही लयमा अगाडि बढेको छ ।
साताको दोस्रो कारोबार दिन आज (सोमबार) पुँजी बजार मापक परिसूचक (नेप्से) ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ विन्दुमा झरेको छ । हिजो नेप्से ८८ दशमलव ७० अंकले घटेको थियो ।
आज समग्र नेप्से ३ दशमलव ३६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ । आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ४७ अंकले घटेर ४ सय ३७ दशमलव ५९ विन्दुमा ओर्लिएको छ ।
आज तीन अर्ब ९९ करोड ५६ लाख चार हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन साताको पहिलो दिनभन्दा कारोबार रकम भने केही बढेको छ । हिजो तीन अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कूल २३३ वटा कम्पनीका ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ६२ हजार ८०९ पटक किनबेच भएका थिए । आज कारोबारमा आएका १३ वटै समूहको सेयर मूल्य ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै फाइनान्स समूहतर्फको सेयर मूल्य घटेको छ । यस समूहको सेयर मूल्य आज ६ दशमलव ५१ प्रतिशतले घटेको छ । यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सेयर मूल्य ५ दशमलव २८ प्रतिशत र विकास बैंक समूहको सेयर मूल्य ५ दशमलव १५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
यसैगरी आज खरिद–बिक्री रकममा १८ करोड रुपैयाँभन्दा बढी रकमसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी परेका छन् ।