काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । हिजो बजार उच्च अंकले बढेको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज पुँजीबजार मापक परिसूचक ’नेप्से’ ६९ दशमलव ७७ अंकले घटेर २ हजार ५ सय २१ दशमलव ६५ विन्दुमा ओर्लिएको छ । हिजो नेप्से ७१ दशमलव २० अंकले बढेर २ हजार ५ सय ९१दशमलव ४२ विन्दुमा उक्लिएको थियो ।
नेप्सेका अनुसार आज कारोबार रकम भने बढेको छ आज पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज कूल २३८ वटा कम्पनीका एक करोड दुई लाख ९२ हजार २६६ कित्ता सेयर किनबेच भएका छन् ।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज घटेको छ । आज यस्तो सूचक १० दशमलव ८५ अंकले घटेर ४ सय ७१ दशमलव ८९ विन्दुमा ओर्लिएको छ ।
आज कारोबारमा आएका दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्स कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै निर्जीवन बिमा उपसमूहका लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाएका छन् । खरिदबिक्री रकममा ३० करोड ६० लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्टस् र नेपाल लाइफ इन्स्योरेन्स परेका छन् ।