काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट आठौं चरणका खेलहरु सुरु हुँदै छ । लिगको आठौं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुने छन् ।
पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । संकटा र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुने छ । संकटा लिगको तेस्रो स्थानमा रहेको छ । संकटाले ७ खेलमा १३ अंक जोडेको छ ।
आज सातदोबाटोलाई हराएर संकटा दोस्रो स्थानको मनाङसँग अंक बराबरी गर्न चाहन्छ । सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । संकटालाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ ।
यस्तै दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । एपीएफ र जावलाखेलबीचको खेल पौने ५ बजे सुरु हुने छ । एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
जावलाखेललाई हराएर एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ । जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा रहेको छ । जावलाखेल पनि एपीएफलाई स्तब्ध पार्दै अंक तालिका सुधार्ने योजनामा हुने छ ।