काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थिथ दशरथ रंशालामा भएको खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो । खेलमा सातदोबाटोले पहिले अग्रता लिएपनि संकटाले बराबरी गोल फर्कायो ।
खेलको २३ औं मिनेटमा सातदोबाटोले शुसिल राईको गोलमार्फत अग्रता लिएको थियो । संकटाका डिफेण्डर निरज बस्नेतले दिएको पास गोलकिपर राजुबाबुले क्लियर गर्न खोज्दा राईलाई लागेर फर्कँदै गोल भयो ।
३० औं मिनेट सुदीप गुरुङको लङ सट बारमा लागेर फर्कँदा सातदोबाटो अग्रता बढाउने अवसरबाट बन्चित बन्यो ।
३२ औं मिनेटमा जय गुरुङले संकटाको लागि बराबरी गोल फर्काए ।लिपेश आलेले दिएको पासमा जयले करिब २५ यार्डबाट उत्कृष्ट गोल गरे ।
दीपेशको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले रोक्ने कुनै अवसर पाएनन् ।
दोस्रो हाफमा शुरुमै सातदाबेटोले दुई अवसर पाएपनि दिपक राज सिंह ठकुरीले सदुपयोग गर्न सकेनन् । यस्तै संकटाका लक्ष्मण रुचालको लङ सट बार माथिबाट बाहिरियो ।
बराबरीपछि संकटाले अपराजित यात्रालाई ८ खेलसम्म पुर्याएपनि मनाङसँग अंक बराबरी गर्ने अवसर गुमायो । जारी लिगमा पाँचौ बराबरी खेलेको संकटा ८ खेलबाट १४ अंकसहित तेस्रो स्थानमै छ । यस्तै सातदोबाटो ८ खेलबाट ९ अंकसहित आठौँ स्थानमै छ ।