काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै छन् । लिगको आठौं चरणका खेल अन्तर्गत आज दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने छ । मछिन्द्र र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुने छ । मछिन्द्र ७ खेल १७ अंक जोडेर शीर्ष स्थान रहेको छ । मछिन्द्र फ्रेन्ड्सलाई हराएर शीर्ष स्थान कायमै राख्न चाहन्छ । ३ अंक जोडेर पुछारमा रहेको फ्रेन्ड्स पनि मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजा निकाल्न चाहन्छ ।
यस्तै पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच खेल हुने छ । मनाङ र च्यासलबीचको खेल दिउँसो २ बजे सुरु हुने छ । मनाङ ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । च्यासललाई हराएर मनाङ उपाधि होड कायमै राख्न चाहन्छ । ७ खेलमा ५ अंक जोडेर लिगको १३ औं स्थानमा रहेको च्यासल मनाङलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लने योजनामा छ ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ । एनआरटी र आर्मीबीचको खेल पौने ५ बजे सुरु हुने छ । एनआरटी ७ खेलमा १० अंक जोडेर सातौं स्थानमा रहेको छ । आर्मी ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।