काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नवौं चरणका खेल आजदेखिसुरु हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नवौं चरणको पहिलो खेलमा एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने छ । एपीएफ र शेर्पाबीचको खेल दिउँसो १ बजे सुरु हुने छ ।
यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच भिड्ने छन् । मनाङ र सातदोबाटोबीचको खेल पौने ५ बजे सुरु हुने छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । लिग हेर्न रंगशालामा उपस्थित दर्शकले अब अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने प्रावधान राखिएको लिगका निर्देशक सञ्जीव मिश्रले बताए । दर्शकले अब टिकट लिँदा नै अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्ने छ ।
निर्देशक मिश्रका अनुसार प्यारापिटमा पनि दर्शकलाई एक सिट खाली राखेर अर्को सिटमा बस्ने व्यवस्था मिलाइने छ । खेलाडी र अफिसियललाई पनि मास्क, स्यानिटाइजरलगायत सम्पूर्ण जोखिम न्यूनीकरणका मापदण्ड पूरा गरेर सहभागि गराइने उनले बताए । मिश्रका अनुसार लिगमा सहभागी टोलीका खेलाडीलाई कोरोना संक्रमण भएमा क्लबसँगको समन्वयमा खेलाडीको उपचार लगायत सबै व्यवस्था एन्फाले गर्ने छ । लिगमा अहिले औसत दुई हजारदेखि १० हजारसम्म दर्शक आइरहेका छन् ।