काठमाडौं– नेपालले केही महिनाअघि तालिबानले सत्ता कब्जा गरेको मुलुक अफगानिस्तानलाई मानवीय सहायता गर्ने भएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार नेपाली जनताका तर्फबाट अफगान जनतालाई सहयोग गर्न लागिएको हो ।
परराष्ट्र स्रोतका अनुसार खाद्यान्न, लत्ताकपडा र औषधी बोकेर आइतबार बिहान हिमालय एयरलाइन्सको चार्टर्ड जहाज काबुल जाँदैछ । जहाज काबुल उड्नुअघि त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलन गर्ने जनाईएको छ ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि गत अगस्टमा असरफ घानी नेतृत्वको सरकार ढलेको थियो । तालिबानहरूले सत्ता कब्जा गरे पनि उनीहरूको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन । नेपालले पनि तालिबान नेतृत्वको सरकारलाई मान्यता दिएको छैन ।
तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएको छ ।
चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन् । नेपालले पनि अफगान जनतालाई केही राहत होस् भनेर सहायता पठाउन लागेको हो ।
अफगानिस्तानमा अमेरिकी सैनिक हुँदा ठूलो संख्यामा नेपालीहरू सेक्युरिटी गार्डको काम गर्न अफगानिस्तान पुगेका थिए । अहिले पनि संयुक्त राष्ट्र संघका अफगानिस्तानस्थित विभिन्न कार्यालयमा नेपालीहरू कार्यरत छन् ।