Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका अस्पतालमा कोरोनासँगै मौसमी फ्लूका बिरामी बढे

सुदूरपश्चिमका अस्पतालमा कोरोनासँगै मौसमी फ्लूका बिरामी बढे

  • बिहिवार, माघ ६ २०७८

  • 605
    SHARES

  • सुदूरपश्चिमका अस्पतालमा कोरोनासँगै मौसमी फ्लूका बिरामी बढे

    काठमाडौं – सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणसँगै मौसमी फ्लूका बिरामीको चाप समेत बढ्न थालेको छ । विगत ४–५ दिनदेखि कैलाली र कञ्चनपुरमा बाक्लो हुस्सु र शितलहरका कारण बढेको अत्यधिक चिसोले अस्पतालहरुमा मौसमी फ्लूका बिरामीको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको हो ।

    सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा पछिल्लो समय दैनिक बढिमा साढे चार सय बिरामी उपचारका लागि पुग्न थालेका छन् । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार बिहीबार मात्र अस्पतालबाट तीन सय ५० जनाले ओपीडी र ५२ जनाले इमरजेन्सी सेवा लिएका छन्। जुन संख्या नियमित चेकजाँच गराउने आउनेहरुको तुलनामा धेरै हो ।

    उनका अनुसार मौसमी रुघाखोकी, बालबालिकामा निमोनियाको समस्या, वृद्ध वृद्धामा श्वासप्रश्वासको समस्या लिएर आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
    सेती प्रादेशिक अस्पताल मात्र नभएर कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा समेत मौसमी फ्लुका बिरामीको संख्यामा वृद्धि हुन थालेको छ ।

    अस्पतालमा मौसमी रुघाखोकी, ज्वरो लगायतका समस्या लिएर भर्ना हुने बिरामीको चाप बढेपछि कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पतालले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

    महाकाली प्रादेशिक अस्पतालकी सूचना अधिकारी उसा भट्टले अहिले दैनिक दुई सयदेखि दुई सय ५० जना विरामी उपचारका लागि आउने गरेको सुनाइन् ।

    उनकाअनुसार अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिएका कारण तत्काल अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । अहिले खासगरी मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, झाडापाखला, दम लगायतका समस्या भएका बिरामीको संख्यामा वृद्धि भएको छ ।

    चिकित्सकहरुका भनाइमा कोरोना भाइरस र मौसमी फ्लुका बिरामीहरुमा मिल्दोजुुल्दा लक्षण देखिन थालेका कारण पनि मानिसहरु आत्तिएर उपचारका लागि अस्पताल पुुग्न थालेका छन् । तर चिकित्सकहरुले भने स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै सर्तकता अपनाउन आग्रह गरेका छन् ।

    सेती प्रादेशिक अस्पतालका इमरजेन्सी वार्ड प्रमुख डाक्टर जगदिशप्रसाद जोशीले कोरोना संक्रमणसँगै मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीको संख्या बढेको बताउँदै स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएका छन् ।

    लक्षणका आधारमा मौसमी फ्लू र कोरोना भाइरसको संक्रमण छुट्याउन नसकिने भएपनि आत्तिन नपर्ने उनको भनाई छ । तर रुघाखोकी, ज्वरो, टाउको दुख्ने जस्ता समस्या देखिएमा चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन र आर्युवेदिक औषधिको प्रयोग गर्न सकिने जोशी बताउँछन् ।

    कोरोना भाइरसको शंका लागेमा तत्काल परीक्षण गराएर सुरक्षित बस्न समेत आग्रह गरिएको छ ।


    बिहिवार, माघ ६ २०७८०५:२३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij