काठमाडौँ । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने क्वाटरफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र बिवाइएसी मिनेसोटा युएसएबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । यस खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वाटरफाइनलमा पुगेको हो । बिवाइएसी युएसएलले भने सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।