काठमाडौं – एमालेको उपाध्यक्षबाट राजीनामा दिएका वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमको सचिवालयका अनुसार केही दिनमै पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भइरहेको छ।
सचिवालय स्रोतका अनुसार नयाँ पार्टी दर्ताको तयारी भइरहेको र केही दिनमै निर्वाचन आयोगमा जाने तायारी छ । गौतम अहिले राष्ट्रिय सभा सदस्य छन्।
२०७४ सालको संसदीय चुनावमा बर्दिया–१ मा पराजित भएका गौतमलाई केपी शर्मा ओली नेतृत्वको २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो।
सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन्। गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका हुन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम सचिवालय सदस्य थिए। नेकपा विभाजनपछि उनी एमाले उपाध्यक्ष थिए। एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएका थिए तर उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० मा गएका थिएनन्।
गौतम मंसिरमा भएको एमालेको १० औं महाधिवेशन प्रक्रियामा पनि सहभागी भएका थिएनन्।
२०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा ९माले० गठन गरेका थिए। मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो।