काठमाडौं – गोरखामा हिउँ खेल्न गएका दुई जना किशोर बेपत्ता भएका छन्। पाँच दिनदेखि दुई जना किशोर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीय करण घले र २ का सञ्जय घले माघ २० गते देखि बेपत्ता छन्। उनीहरू दुबै जना साथीहरू हुन्।
उनीहरू हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक जाने भनेर हिँडेका थिए। बारपाकदेखि लाप्राकसम्म कच्ची बाटोमा हिँडेर ३–४ घण्टा लाग्ने उनले बताए।
उनीहरू गत बिहीबारदेखि नै बेपत्ता भएपछि आफन्त तथा स्थानीय आफैंले खोजी गरेका थिए। तर उनीहरू फेला नपरेपछि आफन्तले प्रहरीलाई आइतबारमात्रै खबर गरेका थिए।
स्थानीय र प्रहरी मिलेर उनीहरूको खोजी गरिरहेका छन्। यता काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ खेल्न हिँडेका पाँच जना बालबालिका बेपत्ता भएका थिए।
चन्द्रागिरिको जंगलमा बेपत्ता भएको खबर पाएपछि प्रहरीको टोलीले उनीहरूलाई मध्यरातमा उद्धार गरेको थियो।