काठमाडौँ – सरकारका नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना एमसीसीलाई सभामुखले सदनमा पेस हुन दिन्नँ भन्न नमिल्ने चेतावनी दिएको छ ।
एमसीसी सदनमा लैजाने कुरामा सभामुख अग्नि सापकोटाले आफ्नो पदीय दायित्व निभाउनुपर्ने कांग्रेसले बताएको हो । कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे संसदले निर्णय लिन पाउनुपर्नेमा जोड दिनुभयो ।
सभामुखले आफ्नो काम कर्तव्य र दायित्व बुझ्नुपर्ने र पदीय जिम्मेवारीबाट भाग्न नमिल्ने उहाँले बताउनुभयो । आफूलाई मन लागेको विषय मात्रै सदनमा पेस गर्छु, अरु गर्दिनँ भन्न सभामुखले नपाउने महतको भनाइ थियो ।
यसअघि केपी ओली प्रधानमन्त्री भएका बेला पनि सभामुख सापकोटाले एमसीसी सदनमा पेस हुन नदिएको विषय चर्चामा छ । तर आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा तत्काल एमसीसी सदनमा प्रस्तुत गर्न जोड दिइएको छ ।
एमसीसीबारे पक्ष र विपक्षको अन्यौल सदनमै गएर निक्र्याैल हुनुपर्नेमा कांग्रेस बैठकमा धारणा बनेको हो । तर सत्ता साझेदार माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा एमसीसीबारे अझै पनि दलहरुबीच छलफल जारी रहेको र समान धारणाका लागि कसरत चलिरहेको बताउनुहुन्छ । उहाँले यसबारे राष्ट्रिय सहमति खोजिने बताउनुभयो ।
आजको कांग्रेस बैठकमा स्थानीय चनावको गठबन्धनबारे पनि छलफल भएको थियो । प्रवक्ता महतले चुनावी गठबन्धनबारे निर्णय लिने बेला भइनसकेको बताउनुभयो । तर केन्द्रीय सदस्य डा.शशांक कोइरालाले आगामी निर्वाचनमा गठबन्धन बनाउनु नहुनेमा धारणा राखेको र यसमा धेरै नेताहरुले समर्थन जनाउनुभएको जानकारी दिनुभयो ।
यसअघि आजै माओवादी केन्द्रका अध्यक्ष प्रचडलाई भेटेर कांग्रेस नेता शेखर कोइरालाले पनि आगामी चुनावमा गठबन्धन नगर्न सुझाव दिनुभएको थियो ।
अघिल्लो चुनावमा भएको गठबन्धनले माओवादी र कांग्रेस दुवैलाई फाइदा नभएको पृष्ठभूमि सुनाउँदै शेखरले कम्युनिष्टले रुखमा भोट नहाल्ने भएकोले गठबन्धन गर्न नसकिने जवाफ दिनुभएको थियो ।
तर माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेमात्रै एमालेलाई परास्त गर्न सकिने निचोडका साथ कांग्रेसलाई मनाउन लागिपरेका छन् । कांग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने मत बलियो छ ।