काठमाडौँ । ओमानमा भइरहेको चार देशीय टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्याण्डसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार साँझ पौने ५ बजे हुनेछ ।
ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप सिरिज आयोजना भएको हो । यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।
आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । नेपालले आयरल्याण्डसँग यसअघि दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको छ ।
सन् २०१५ मा आयरल्याण्डमै भएको टी–२० विश्वकप छनोटमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । यस्तै २०१९ मा ओमानमै भएको पेन्टागुलर टी–२० सिरिजमा आयरल्याण्डले नेपाललाई १३ रनले हराएको थियो । यस्तै आजै पौने १२ बजे ओमान र युएई खेल्ने छन् ।