Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आयरल्याण्डविरुद्ध हावी देखीएको नेपाल ब्याटिङमा चुक्यो, १६ रनले पराजित

आयरल्याण्डविरुद्ध हावी देखीएको नेपाल ब्याटिङमा चुक्यो, १६ रनले पराजित

  • सोमवार, फाल्गुण २ २०७८

  • 933
    SHARES

  • आयरल्याण्डविरुद्ध हावी देखीएको नेपाल ब्याटिङमा चुक्यो, १६ रनले पराजित

    काठमाडौं । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङमा खराब प्रदर्शन गर्दा नेपाल चार देशीय टी(२० सिरिजको अन्तिम खेलमा आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।

    दीपेन्द्र सिंह ऐरीले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि टेष्ट राष्ट्र आयरल्याण्डलाई १२७ रनमा अलआउट गरेपनि नेपाल जितबाट वञ्चित रह्यो ।

    १२८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो ।

    नेपालले आयरल्याण्डलाई १३.३ ओभरमा हराएको भए सिरिज नै जित्ने अवसर थियो । तर सफल हुन सकेन ।

    उत्कृष्ट बलिङ गरेको नेपालले लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गर्‍यो । यसअघि दुई खेल नखेलेका कुशल भुर्तेल र आसिफ शेखको नेपालको ओपनिङ जोडीको रुपमा आएका थिए ।

    पहिलो विकेटका लागि कुशल र आसिफले ४।१ ओभरमा २६ रनको साझेदारी गरे । कुशल ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाएर आउट भए ।

    तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका लोकेश बम छैटौं ओभरमा व्यक्तिगत ६ रनमा आउट भए ।

    अर्का ओपनर आसिफ शेख २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाएर आठौं विकेटमा आउट हुँदा नेपाल ५०(३ को स्थितिमा पुग्यो ।

    पाँचौं नम्बरमा झरेर ब्याटिङ गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पनि ५ रन बनाएर १२औं ओभरमा आउट भए । त्यसपछि आएका शरद भेषावकर १ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालले ६६ रनमा पाँचौ विकेट गुमायो ।

    दीपेन्द्र सिंह ऐरीले कुशल मल्लसंग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । यो जोडीले २२ रनको साझेदारी गर्‍यो । दीपेन्द्र लामो सट हान्ने क्रममा १७औं ओभरमा आउट भए । उनले ३० बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

    अन्तिम दुई ओभरमा नेपाललाई जितका लागि २४ रन आवश्यक थियो । तर १९औं ओभरको तेस्रो र चौथो बलमा कुशल मल्ल र कमल सिंह ऐरी लगातार आउट भए ।

    कुशलले १६ बल खेल्दा जम्मा ९ रन बनाए । कमलले १० बल खेल्दै १ चौका र १ छक्का मद्दतमा १३ रन जोडे ।

    अन्तिम ओभरमा सन्दीप १ रन बनाएर आउट भए ।

    आयरल्याण्डका मार्क एडेर, सिमी सिंह, बेरी म्याक्कार्थी र एन्डी म्याकब्रिनले २(२ विकेट लिए । कर्टिस काम्परले १ विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले इनिङ्सको अन्तिम बलमा अलआउट हुँदै १२७ रन बनाएको थियो ।

    उत्कृष्ट बलिङ प्रदर्शनसहित नेपालले आयरल्याण्डलाई सुरुवातदेखि नै दबावमा राखेको थियो । सुरुवाती ६ ओभरमै आयरल्याण्ड ३५–३ को कमजोर स्थितिमा थियो । पहिलो ओभरमै कमलसिंह ऐरी, त्यसपछि जितेन्द्र मुखिया र अविनाश बोहराले पावर प्लेमा विकेट लिए ।

    त्यसपछि दीपेन्द्रसिंह ऐरीको सानदार बलिङ आक्रमण सुरु भयो । दीपेन्द्रले ट्वान्टी–२० करिअरमै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दा टेष्ट टोली आयरल्याण्ड सस्तैमा खुम्चिन पुग्यो । दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।

    यो खेलमा कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरे । उनी ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर हुन् ।

    आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रन जोडे । कर्टिस च्यम्परले २० र एण्डी बाल्बिर्नीले १९ रन जोडे ।

    श्रृङ्खलाको पहिलो खेलमा ओमानमाथि ६ विकेटको जित हासिल गरेको नेपालले दोस्रो खेलमा युएईसँग २५ रनको हार ब्यहोरेको थियो ।


    सोमवार, फाल्गुण २ २०७८०७:२९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij