काठमाडौं । म्याट हेनरीले सात विकेट लिएपछि न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्ट क्रिकेटको पहिलो दिन खेल नियन्त्रणमा राखेको छ । पहिलो दिन सकिँदा न्युजिल्यान्डले २१ रनले अग्रता लिएको छ ।
हेनरीले १५ ओभरमा सात मेडनसहित २३ रन दिएर सात विकेट लिएपछि दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ९५ रन जोड्दा सबै विकेट गुमाएको थियो ।
न्युजिल्यान्डको क्राइस्टचर्चस्थित हागले ओभलमा घरेलु टोलीले टस जितेर दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएको थियो । दक्षिण अफ्रिकाका लागि जुबाएर हाम्जाले सबभन्दा धेरै २५ रन बनाए । काइल भेरेनेले १८ र एइडिन मारक्रमले १५ रनको योगदान गरे । सरेल इर्वीले १० रन जोड्नुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्डका हेनरीबाहेक टिम साउथी, काइल ज्यामिन्सन, नेइल वाग्नरले एक–एक विकेट लिए ।
त्यसपछि ब्याटिङ थालेको न्युजिल्यान्डले तीन विकेट गुमाएर ११६ रन बनाएको छ । घरेलु टोलीका हेनरी निकोलस ३७ र वाग्नर दुई रन बनाएर क्रिजमा छन् । त्यसअघि, डेभोन कोनवेले ३६ रन बनाए । ओपनर टम लाथमले १५ र विल योङले आठ रन बनाए ।
दक्षिण अफ्रिकाका डुवाने ओलिभरले दुई विकेट लिए भने मार्को जनसेनले एक विकेट लिए ।