Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

विश्वकप लिग-२ : अंक तालिकामा फड्को मार्न नेपालले युएईलाई हराउनै पर्ने

विश्वकप लिग-२ : अंक तालिकामा फड्को मार्न नेपालले युएईलाई हराउनै पर्ने

  • आइतवार, चैत्र ६ २०७८

  • 659
    SHARES

  • विश्वकप लिग-२ : अंक तालिकामा फड्को मार्न नेपालले युएईलाई हराउनै पर्ने

    काठमाडौँं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपालले भोलि सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ।

    युएईमा भइरहेको सिरिजको सुरूवाती दुईमध्ये नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोर्‍यो। पहिलो खेलमा पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भयो।

    दुवै खेलमा नेपालको ब्याटिङ खराब रह्यो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवै खेलमा चल्न सकेनन्। तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्र मल्लले पनि अपेक्षाकृत ब्याटिङ गरेका छैनन्।

    कसिलो बलिङ गरे पनि अलराउन्डर दीपेन्द्रसिंह ऐरी यो सिरिजको सुरुवाती दुवै खेलमा ब्याटिङमा जम्न सकेनन्।

    मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेलले मात्र राम्रो ब्याटिङ गरेका छन्। उनले पहिलो खेलमा ६० रन र दोस्रो खेलमा ४६ रन जोडेका थिए।

    बलिङमा सोमपाल कामीले सानदार पुनरागमन गरेका छन्। पहिलो खेलमा तीन विकेट लिएका उनले दोस्रो खेलमा चार विकेट हात पारे। करण केसीले दोस्रो खेलमा तीन विकेट लिएका थिए। कप्तान सन्दीप लामिछानेले दुवै खेलमा एक एक विकेट लिए।

    दुवै खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो। पहिलो खेलमा पपुवा न्युगिनीलाई २०४ रनमा रोकेको नेपालले दोस्रो खेलमा युएईलाई १६८ रनमै अलआउट गरेको थियो।

    दुवै खेलमा लक्ष्य पछ्याउँदै ब्याटिङ गर्दा नेपालका सुरुवाती चार ब्याट्सम्यान ३० रनभन्दा कममा आउट भएका थिए। जसमा पहिलो खेलमा शीर्ष चारमध्ये तीन ब्याट्सम्यान दोहोरो अंक जोडन् नपाइ आउट भए। दोस्रो खेलमा सुरुवाती चारमध्ये दुई ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

    नेपालले दुई खेलमा अहिलेसम्म २ छक्का मात्र हानेको छ। दोस्रो खेलमा छक्का प्रहार गर्न नसकेको नेपालका लागि पहिलो खेलमा करण केसीले २ छक्का हिर्काएका थिए। करणकै ब्याटिङमा नेपालले पहिलो खेलमा जित निकाल्न सकेको थियो।

    समग्रमा नेपालका लागि भोलि हुने खेलमा ब्याटिङले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। ब्याटिङमा सुधार गरे नेपालले युएईलाई टक्कर दिन सक्छ।

    लिग(२ को अंक तालिकमा छैटौं स्थानमा रहेको नेपाल बाँकी रहेका दुवै खेलमा जित हात पारे दुई स्थान माथि उक्लदै चौथो स्थानमा पुग्नेछ। बाँकी दुई मध्ये एक खेलमा हारे नेपालको स्थान परिवर्तन हुनेछैन।

    त्यसैले दुवै खेलमा जित निकालेर अंक तालिकामा फड्को मार्न सुरुमा युएईलाई हराउनु पर्नेछ।

    लिग(२ को अंक तालिकामा ‌ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १७ खेलबाट २० अंक जोडेको छ। तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।

    चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले १० खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १५ खेलबाट २ अंक जोडेको छ।

     


    आइतवार, चैत्र ६ २०७८०४:१६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij