काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज यूएईको सामना गर्दैछ । दुबई क्रिकेट रंगशालामा नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान सभा ११ बजे सुरु हुनेछ ।
आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।
यता, युएई सिरिजको आफ्नो अन्तिम खेलमा तेस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाललाई हराएको युएई पीएनजीसँग तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो । नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा ५ पटक आमनेसामने भएका छन् । जसमा नेपालले २ पटक जित्दा यूएई ३ पटक विजयी भएको छ ।
गत महिना ओमानमा भएको आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा समेत नेपालको लागि यूएई तगारो बनेको थियो । त्यसैले नेपाल टी–ट्वान्टी विश्वकप छनोटको बदला यूएईविरुद्ध उसैको घरमा लिने प्रयासमा रहने छ । लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् । नेपालले १० खेलमा ५ जित निकाल्दै १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यूएई भने १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।