काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब चोनबुरी एफसीसँग पराजित भएको छ । चोनबुरी स्टेडियममा आज भएको खेलमा नेपाललाई घरेलु टोलीले ३–१ गोल अन्तरले हराएको हो । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए ।
चोनबुरीसँगको खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो रोजाईका गोलरक्षक तथा कप्तान किरण चेम्जोङलाई विश्राम दिदा दीप कार्कीलाई गोलपोस्टको जिम्मेवारी प्रदान गरेका थिए । टोलीको कप्तानी अनन्त तामाङले सम्हालेका थिए ।
नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।
एसियन कप छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।