काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहने छ । तर, पीएनजीलाई हराउन सहज छैन । यसअघि नेपाल र पीएनजी एक पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय आमनेसामने भएका छन् ।
सन् २०१५ मा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपालले लजास्पद हार व्यहोरेको थियो । डब्लिनमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
सात वर्षअघि खेलिएको खेलका २ खेलाडी मात्र अहिले पीएनजी विरुद्धको खेलका लागि उपलब्ध हुने छन् । उक्त खेलमा प्लेइङ–११ मा रहेका २ खेलाडीले सन्यास लिएका छन् भने सोमपाल कामी र करण केसी मात्र आज पीएनजी विरुद्धको लागि राष्ट्रिय टिममा हुने छन् । पीएनजीको टिममा भने उक्त खेलका ५ खेलाडी सामेल छन् ।
नेपाल र पीएनजी दुवैले एक एक पटक टी–ट्वान्टी विश्वकप खेलेका छन् । नेपालले सन् २०१४ मा टी–ट्वान्टी विश्वकप खेल्दा पीएनजीले भने गत संस्करणको विश्वकपमा सहभागिता जनाएको थियो ।
पीएनजीले पछिल्लो ६ टी–ट्वान्टी खेलमा जित निकाल्न सकेको छैन । नेपाल भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु मैदानमा नेपालको रेकर्ड राम्रो छ । नेपालले त्रिवि क्रिकेट मैदानमा ८ खेल खेल्दा ७ खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ ।