काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।
अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा २०७८ भदौ १७ गते रिट दायर गरेका थिए।
ओलीले एमाले विभाजन गर्न तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख समेतलाई विपक्षी बनाएका छन्।