काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विभिन्न पाँच बुँदे माग राख्दै समयमा समस्याको हल नभए पुनः सत्याग्रह बस्ने चेतावनी दिनुभएको छ । डा. केसीले आज एक विज्ञप्ति जारी गर्दै दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी बेड संख्याका आधारमा बढाउन माग राख्नुभएको छ ।
‘जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित, संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।
डा. केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न माग पनि गर्नुभएको छ । विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण गर्न पनि डा केसीको माग छ ।\
आफूसँग भएको सम्झौता अनुसार डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पाँचथरमा तुरुन्त सरकारल मेडिकल कलेज निर्माण गर्न माग गर्नुभएको छ । यस्तै, केसीले सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गर्नसमेत सरकारको ध्यनाकर्षण गर्नुभएको छ ।