काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल पाहुना टोली जिम्बावे ’ए’ विरुद्ध सानदार जित निकालेको छ । टियु क्रिकेट मैदानमा आज नेपालले जिम्बावे ’ए’ लाई ९ विकेटले हराएको हो । जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे । जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।
जिम्बावेका लागि जोनाथन क्याम्पबेलले २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाए । नेपालका सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।
यस जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । हिजो भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ ।
अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो । यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो ।