काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले कोरोना महामारीको बढ्दो चुनौती सामना गर्न सक्ने ढंगले कार्य गर्न सरकार समर्थ नदेखिएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सोमबारको भेटमा देउवाले कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन भनेर प्रश्न गरेका थिए।
देउवाले आइसोलेसन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न किन ढिलाई गरिएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।
यस्तै देउवाले सिन्धुपाल्चोकको लिदी गाउँका बासिन्दाले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद भएको बताउँदै यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेको कांग्रेसले जनाएको छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी नागरिकको ज्यान गएको छ भने कैयौँ बेपत्ता छन् ।
देउवाले देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको तर सरकारको भूमिका सन्तोषजनक नदेखिएको बताउँदै व्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी रहेको कुरामा पनि देउवाले जोड दिएका थिए।
‘निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन। अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु’, देउवाले भनेका थिए ।
सभापति देउवाले यी सबै बिषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्री समक्ष आग्रह र नेपाली कांग्रेसको तर्फबाट माग गरेका थिए। प्रधानमन्त्रीसँगको भेटमा सभापतिका साथमा केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए।
कतिपय संवैधानिक नियुक्तिहरुबारे पनि प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापति देउवासँग परामर्श गरेका थिए।