काठमाडौं । सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भएका छन् । खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भएकी छिन् । चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।
चौधरी तुलसीपुरमा दिदी घर संस्था सञ्चालन गरी असहाय बालबालिकाको संरक्षण गर्दै आएकी छिन् । उनी पहिलोपटक निर्वाचनमा होमिएर निर्वाचित भएकी छिन् । पराजित राना समाजवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन् । निर्वाचनमा पराजय भोगेपछि उनले पार्टीको पदबाट राजीनामा दिएका छन् ।
एमालेले तुलसीपुरमा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडा जितेको छ । कांग्रेसले ५, ७, ९, १४, १७ र माओवादी केन्द्रले १, ४ र १२ नम्बर वडा जितेको छ । १६ नम्बर वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।