काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर पुगेको छ । गत मंगलबार प्रतिब्यारेल ११० डलर आसपास रहेको ब्रेन्ट कच्चा तेल एक सातामै १४ डलर बढेको छ ।
डब्लूटीआई तेलको मूल्य १२० डलर पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेल उत्पादक मुलुकहरूको सङ्गठन ओपेकले तेल उत्पादनमा हालको मात्रालाई नै यथावत् राख्न सक्ने भएकाले मूल्यमा दबाब परेको हो ।
त्यस्तै रुसबाट आयात हुने ९० प्रतिशत तेल कटौती गर्न युरोपेली संघ (ईयू) सैद्धान्तिक रुपमा तयार भएको पनि रोयटर्सले जनाएको छ ।अमेरिका तथा साउदी अरेबियापछि रुस धेरै तेल उत्पादन गर्ने तेस्रो ठुलो मुलुक हो ।
रुसको तेल प्रतिबन्धकै कारण अहिले विश्वको आपूर्ति श्रृंखलामा समस्या आएको हो । युक्रेनमाथि रुसको आक्रमणलाई लिएर युरोपेली मुलुकले तेलसहित रुसका विभिन्न उत्पादनमा प्रतिबन्ध लगाएका छन् । भारतसहित अन्य मुलुकलाई समेत रुसबाट तेल खरिद नगर्न अमेरिकाले चेतावनी दिँदै आएको छ ।
कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ । यसले नेपाल आयल निगमलाई पनि तेलको मूल्य बढाउन दबाब परेको छ । अर्कोतर्फ निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले मुलुकको व्यापार घाटा यसले झनै बढाउने छ । नेपालमा आयात हुने वस्तुमा रकमका आधारमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठुलो अर्थात १५ प्रतिशत छ ।