काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ ।
आइतबार तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुनेछ ।
उडान सुरक्षालाई मध्यनजर गरी यो नियम कडाइका साथ लागू गर्ने निर्णय भएको कर्णको भनाई छ । अहिले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भए पछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको छ ।
पछिल्लो निर्णयपछि अब जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने भएको छ । यसको कडाइका साथ पालना गरिने समेत कर्णले बताउनुभयो ।
प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई आधार मानिनेछ । नेपालमा मौसमको पूर्वानुमान गर्ने आधिकारिक निकाय विभाग नै हो । हरेक वर्ष प्राधिकरणले कम्पनीहरूलाई मनसुन सर्कुलर समेत जारी गर्छ । यो वर्ष पनि एक साता अगाडि मात्रै प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई बोलाएर मौसमको समयमा गर्न हुने र नहुने कामबारे जानकारी गराएको थियो ।