काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज पनि उच्च अंकले घटेको छ । आज ३५.५३ अंकले घटेको बजार २१३७.९२ विन्दुमा झरेर रोकियो । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ ।
हिजो समेत बजार ५० अंकभन्दा बढीले घटेको थियो । आज म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
आज २२९ कम्पनीका २७ हजार ५१९ कारोबारबाट ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कुल १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेर १४७५.८० रुपैयाँ पुग्यो । एनएमसी ५०, सामलिङ पावर, एनआईसी ग्रोथ फण्डसहितका कम्पनीको सेयर मूल्य पनि बढेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्सको मूल्य ६.५० प्रतिशतले घटको छ । आज एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।