Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य

अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य

  • मंगलवार, जेठ १७ २०७९

  • 818
    SHARES

  • अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य
    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ ।
     
    नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार (१ जुलाई)देखि लागू हुने गरी निर्णय भएको उहाँले जानकारी दिनुभयो । 
     
    अहिले हेलिकप्टरमा एक जना पाइलट रहेर यात्रु बोक्ने काम गरिरहेका छन् । भने साना हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय भएको कर्णले जानकारी दिनुभयो । 
     
    नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकप्टरहरूको दुर्घटना दर उच्च छ  । सोहीकारण हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । 
     
    नेपालमा अहिले हवाईजहाज र एमआई १७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो । अब भने साना हेलिकप्टरमा समेत दुई पाइलट अनिवार्य गरिएको हो ।
     
    नेपालमा जहाज चलाउँदा चलाउँदै पाइलट अचेत हुने वा अन्य स्वास्थ्य समस्या आएमा थप ठूलो दुर्घटना नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय भएको बताइएको छ । विश्वका अधिकांश मुलुकमा सिङ्गल इन्जिन एयरक्राफ्टमा दुई पाइलट राख्ने प्रचलन छैन । तर, नेपालमा भने प्राधिकरणले नौलो निर्णय गरेको छ ।
     
    प्राधिकरणको निर्णय वायुसेवा कम्पनीसम्म भने पुगिसकेको छैन । एक वायुसेवा सञ्चालकले यस्तो निर्णय भए पनि कार्यान्वयनमा आउन भने सम्भव नरहेको प्रतिक्रिया दिएका छन् । नेपालमा पाइलटको संख्या, हेलिकप्टरको बिजनेस, यात्रुको अवस्था अध्ययन नगरी प्राधिकरणले निर्णय गरिएको भन्दै कार्यान्वयन हुन नसक्ने उनले बताए ।
     
    नेपालमा हेलिकप्टरको बढ्दो प्रयोगसँगै सञ्चालकहरुले पाइलट भने विदेशबाट मगाउनु परेको छ । सामान्यतया एउटा हेलिकप्टरमा एक जना पाइलट राखेर पनि पूर्ण क्षमतामा उडाउन दैनिक औसत २.६ जना पाइलट आवश्यक पर्छ । यसको तुलनामा नेपालमा स्वदेशी पाइलट उपलब्ध नहुँदा विदेशबाट पाइलट मगाउनु पर्ने आवश्यता रहेको वायुसेवा कम्पनीहरूको भनाइ छ ।
     
    नेपाली कम्पनीमा १५-२० जना विदेशी पाइलटले सेवा दिइरहेको बताइएको छ । नेपाली पाइलटको संख्या ३०-३५ हाराहारीमा छ । आवश्यकताको तुलनामा उत्पादन कम हुँदा नेपालमा हेलिकप्टर उडान विदेशी पाइलट भित्राउनु पर्ने बाध्यता रहेको सञ्चालकहरूको भनाइ छ ।


    मंगलवार, जेठ १७ २०७९०६:३०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij