काठमाडौं । आइसिसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । मलेसियाको युकेएम ओभलमा मंगलबार(आज) नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो ।
यस हारसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ । अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । छनोटको शीर्ष टोलीले दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा अलआउट हुँदै ४० रन मात्र बनाउन सक्यो । नेपालका लागि सृष्टि जैशीले अविजित ७ रन बनाइन्। साना प्रविनले ६, अनु कडायतले ५ रन जोडिन् ।
यस्तै कृतिका मरासिनीले ३, अञ्जलि विश्वकर्माले ३, रन्जु श्रेष्ठले १ र स्नेहाले १ रन जोडिन । सानु राजवंशी र मनीषा राना शून्य रनमा आउट भइन् । मनीषा कुमारी उपाध्याय ३ रनमा आउट भइन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । नेपालको यो दोस्रो हार हो । नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ । थाइल्याण्डको यो लगातार चौथो जित हो । थाइल्याण्ड ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।