काठमाडौं । हरेक वर्ष जेठको अन्तिमतिर सक्रिय हुने मनसुन यसवर्ष एकसाता अघि नै भित्रिएपछि बर्षा शुरु भएको छ । मुलुकका हरेक स्थानमा बर्षा र बाढीपहिरोको जोखिम पनि बढ्दै गएको छ । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुनसक्ने आंकलन गरिसकेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बर्षा शुरुभएसँगै बाढीपहिरोबाट हुने जोखिमलाई मध्यनजर गरी सरकारलाई तयारी थाल्न आग्रह गरेका छन् ।
बैठकमा बोल्दै सांसद दुर्गा पौडेलले बर्षा अत्याधिक हुने मौसम पूर्वानुमान महाशाखाको आंकलन रहेकोले हिमनदी फुट्ने र बाढीपहिरोको जोखिम बढेकोले सरकारले जनताको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने बताउनुभयो ।
यसवर्षको मनसुनी विपद्बाट करिब १७ लाख सर्वसाधारण प्रभावित हुने देखिएकाले प्रतिकार्य स्वरूप गरिने क्रियाकलाप, स्रोतको व्यवस्थापन र जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको छ ।
असोज मसान्त र कात्तिक १ र २ गते महाकाली नदीमा आएको बाढीका प्रभावितहरूले राहात नपाएको भन्दै सांसद दीपक प्रकाश भट्टले प्रधानमन्त्रीले यसवर्ष कस्तो तयारी गर्नुभएको छ भनी प्रश्न गर्नुभयो ।
अर्का सांसद दामोदर भण्डारीले अघिल्लो वर्षकै बर्षात्का समयमा क्षति पुगेका भौतिक संरचना पुनर्निर्माण नभएको भन्दै यसवर्षको बर्षामा पनि सरकार बेखबर भएको दाबी गर्नुभयो ।
विपद् व्यवस्थापनका लागि सरकार तयार रहेको र सबै जिल्लामा अलर्ट रहन खबर भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो । विगतबाट पाठसिक्दै सबै तहका सरकार मिलेर विपद्को सामना गर्नुपर्ने पोखरेलले बताउनुभयो ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार यो महिनामा विपद्का २ सय १४ वटा घटना भइसकेका छन् । खानी तथा भू-गर्भ विभागका अनुसार गतवर्ष ठूलो क्षति पुगेको सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र र तल्लो तटीय क्षेत्रमा अहिले पनि बाढी, पहिरोको जोखिम उत्तिकै रहेको छ । गत वर्षको मनसुनमा पनि औसतभन्दा बढी वर्षा भएको थियो ।
यो पटक पनि सानो क्षेत्रमा केन्द्रित भएर वर्षा हुँदा त्यसले निम्त्याउने असरसमेत बढी हुने वरिष्ठ मौसमविद् वरुण पौडेलको विश्लेषण छ । सीमावर्ती क्षेत्रमा भारत सरकारले बनाएको तटबन्ध, बाँध, अग्ला सडक, रेलमार्ग, ब्यारेज र नहर प्रणालीलगायत संरचनाले पनि तराईका बस्ती र खेतबारी यो पटक पनि डुबानको जोखिममा रहेका छन् । सरकारले समयमै जोखिमको अध्ययन र व्यवस्थापनमा ध्यान नदिए ठूलो क्षति हुनसक्ने देखिन्छ ।।