काठमाडौं । सत्ता साझेदार नेकपा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।
शुक्रबार(आज) संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो ।
आफ्नो पार्टीले मन्त्रीहरूलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘मैले धेरै पटक यसको जवाफ दिइसके । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरू कुनै विकल्प छैन ।’
सम्मानित नेता खनालले कमसेकम मुलुकको अग्रगमन हुने गरी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरू नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गर्नुभयो ।