काठमाडौं । सांसद रंगमती शाहीले सहरी विकास मन्त्रालयको बजेटमा आफ्नो जिल्लाको योजना नपरेकामा आक्रोश व्यक्त गर्नुभएको छ ।
आइतबार प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत खर्चमाथि छलफलमा भाग लिँदै शाहीले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सचिवालयले हुम्लादेखि बोलाएर योजना माग गरेको तर बजेट नपारेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।
‘तपाईँको निजी सचिवालयबाट बजेट आउनुभन्दा अगाडि मलाई फोन गयो, म जिल्लामा थिएँ, योजना हाल्ने बेला भयो माननीयज्यू तपाईँको योजना के छ पठाइदिनुस् भन्नुभयो’ उहाँले भन्नुभयो, ‘प्लेन भाडा तिरेर आएँ, माननीय मन्त्रीज्यू मलाई प्लेनभाडा र सिंहदरबारसम्म आउँदा भएको खर्च र समयको क्षतिपूर्ति चाहियो ।’
सांसद शाहीले आफूलाई बोलाएर योजना मागेको तर बजेट नदिएको भन्दै सांसदलाई बच्चालाई जस्तो व्यवहार गरेको बताउनुभयो । ‘महिला मन्त्री हुनुहुन्छ, सम्मानका साथ हातेमालो गरेर काम गर्छु भन्ने मन थियो । सहरी विकास मन्त्रालयका लागि मेरो जिल्ला हुम्ला त हरेक कुरामा सम्पन्न भइसकेको देखियो’ उहाँले भन्नुभयो, ‘माननीय मन्त्रीज्यू हामी काम नपाएर केही नभएर आएका होइनौँ ? फोन गरेर बोलाएर एउटा योजना हाल्न नसक्ने हामी के बच्चा हौँ खेलाउन खोज्नुभएको हो माननीय मन्त्रीज्यू ?’
सांसद शाहीले हुम्लामा दुईवटा एकीकृत सहकारी भवन निर्माणका लागि ५० लाख परेको भन्दै प्रश्न गरिन्, ‘किताब पल्टाएँ ९४ पेज रहेछ, त्यसमा दुईवटा योजना त्यो पनि एकीकृत सहकारी भवन भनेर ५० लाख रहेछ ५० लाखले हुम्लामा कति भवन बन्छ ?’
उहाँले हुम्लालाई गाउँ नै राख्ने योजना हो भनेर पनि प्रश्न गर्नुभयो। ‘अहिलेसम्म नगरपालिका नभएको एउटा जिल्ला हुम्ला होला । के हुम्लालाई नगरपालिका नबनाउँदै सबै सम्पन्न भइसक्यो ? के गाउँलाई गाउँ नै बनाउने सकारको योजना हो कि ? होइन भने गाउँलाई सहर बनाउने होला नि ? गाउँपालिकालाई नगरपालिका बनाउने होला नि ?’ उहाँले प्रश्न गर्नुभयो।