काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपुर्जा) वितरण गर्ने तयारी भएको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभामा मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिनुभएको हो ।
उहाँका अनुसार कुल करिब १४ लाख परिवार भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासी रहेको सरकारी तथ्याङ्क छ । त्यसमध्ये सुकुम्वासी आयोगमार्फत आगामी वर्ष ३०० स्थानीय तहका ५ लाख परिवारहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी रहेको बताउनुभएको छ । आगामी २ वर्षभित्र बाँकी सबैलाई समेट्ने लक्ष्य राखी काम अगाडि बढाएको उहाँले बताउनुभएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानको लागि राष्ट्रिय भूमि आयोग र जिल्ला समितिहरू गठन भई कार्य प्रारम्भ भइसकेको पनि पनि मन्त्री श्रेष्ठको भनाइ छ ।