काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ।
स्थानीय तह निर्वाचन समीक्षालगायत विषयमा छलफल गर्न काठमाडौंमा आज स्थायी कमिटीको बाह्रौं बैठक बसेको हो।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।
बैठकमा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी गठन भएको छोटो अवधिमा भएका प्रगति र कमजोरीबारे गहिरोसँग समीक्षा हुनुपर्ने बताउनुभएको छ।
‘यो स्थानीय चुनावले राजनीतिक पार्टीको हैसियतमा परिवर्तन ल्याइएको छ,’ खनालले भन्नुभयो, ‘यो चुनावले धेरै खालका संकेत पनि गरेको छ। सबै विषयमा गहिरो गरी समीक्षा र विश्लेषण गर्नुपर्नेछ।’
उहाँले केन्द्रीय कमिटीमा पनि चुनावी समीक्षा गरिनुपर्ने बताउनुभयो। ‘हाम्रा आफ्नै कमजोरीहरू के हुन् भन्नेबारे पनि गहन ढंगले विश्लेषण गर्न सक्यौं भने राम्रो हुन्छ,’ उहाँले भन्नुभयो।