काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ।
बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै एमालेका सांसदहरूले त्यसबारे सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै बैठकमा विरोध गरेका थिए।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभएको थियो । लगत्तै एमाले सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरेका थिए।
यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने एमाले सांसदहरूको भनाइ थियो।
अर्थमन्त्री शर्माले भने बजेट बनाउँदा बाहिरी मानिसको संलग्नता नरहेको प्रष्टीकरण दिनुभएको थियो । बजेट निर्माण गर्दा राजश्वका दर चलाउन अनधिकृत व्यक्ति संलग्न नरहेको उहाँको भनाइ थियो।
एमाले सांसदहरूले उठेर विरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते बिहान ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गर्नुभएको छ ।