काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार परी सूचक नेप्से घटेको छ। शुक्रबार नेप्से परिसूचक ७.५६ अङ्कले घटेर १९७१.३८ बिन्दुमा पुगेको हो।
अघिल्लो दिन राष्ट्र बैङ्कले सेयर धितोमा एकल ग्राहक कर्जा सीमा परिमार्जनसहित लागू गर्ने सम्भावनाका हल्ला चलेकाले बजार बढेको थियो। तर सो वृद्धिले निरन्तरता पाउन सकेन।
आज नेप्से कारोबार जम्मा दुई घण्टाका लागि भएको थियो। सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा खारेजको घोषणा गरेसँगै नेप्सेमा नयाँ निर्णय घोषणा गरिएको थियो। सेयर बजार गत असार १ गतेदेखि शनिवार बाहेक साताको ६ दिन कारोबार हुने घोषणा भएको हो।
आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुने भएको हो।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये म्युचल फन्डबाहेक सबैको मूल्य घटेको छ। म्युचल फन्डको पनि जम्मा ०।०४ प्रतिशतले बढेको हो। आज सबैभन्दा धेरै घट्नेमा भने हाइड्रोपावर रहेको छ। यसको ०।८२ प्रतिशतले सेयर मूल्य घटेको हो।
शुक्रबार सेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन एक अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँको कारोबार भएकोमा आज जम्मा ७३ करोड ६३ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ।
शुक्रबार कुल २२० धितो पत्र तथा ऋणपत्रको २३ लाख ५५ हजार १ सेयर किनबेच भएको छ। यसमध्ये ७० धितो पत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १२५ को मूल्य घटेको छ।
आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धि आज ९.९९ प्रतिशतले भएको छ। अघिल्लो दिन यसको सकारात्मक सर्किट ब्रेक लागेको थियो। बिहीबारदेखि सेयर कारोबार सुरु भएको रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य भने आज सबैभन्दा धेरै ५.९३ अङ्कले घटेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनटिसीको १० करोड १४ लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि सेन्चुरी कमर्सियल बैङ्कको ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ, नेपाल क्रेडिट एन्ड कमर्सियल बैङ्कको ४ करोड ९ लाख २३ हजार रुपैयाँ, कुमारी बैङ्कको २ करोड ८६ लाख २९ हजार रुपैयाँ र लक्ष्मी बैङ्कको २ करोड २६ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ।