काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा राष्ट्रघाती क्रियाकलाप गरेको आरोप लगाउनु भएको छ ।
ओली नेतृत्वको तत्कालीन सरकारले एसपीपी सम्झौतामा स्वीकृति दिएको खुलासा आफूले गएको प्रचण्डले बताउनुभयो ।
आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरू घामजत्तिकै छर्लङ्ग भएको बताउनुभयो ।
‘२०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेलामा र केपी ओली नै रक्षामन्त्री पनि भएको बेलामा यो सम्झौताबारे एउटा सैद्धान्तिक सहमति त्यतिबेलै भएको र प्रवेश गरेको भन्ने कुरा अब छ्याङ्गै भएको छ । मैले पेरिस डाँडामा शहीद रितबहादुर खड्काको श्रद्धाञ्जलीमा बोलेँ-केपी ओली गुटले संसदमा एसपीपी राष्ट्रघाती, हामी बडो राष्ट्रवादी भनेर बोले । हल्ला गर्दै थिए संसदमा’, बिहीबार पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, ‘केपी ओलीले नै त्यो राष्ट्रघात गरेको हो । म चुनौती दिन्छु भनेर मैले बोलेँ । तपाईँहरूले सुन्नुभएको होला । दिउँसो त केपी गुटको मुख्य मान्छेमध्ये एकजनाले मैले गरेको कुरालाई खण्डन गर्दै ल प्रमाणित गरेर देखाउ भनेर सदनमा बोलेछन् । म पुगेको थिइनँ सदनमा । म जानुअघि नै बोलिसकेका रहेछन् । त्यसको तीन घण्टापछि त पत्रै फेला पर्यो ।’
तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पठाएको पत्रमा रक्षामन्त्रीको निर्देशन अनुसार भन्ने उल्लेख गरिएबाट पनि सो पत्रमा तत्कालीन प्रधानमन्त्री एवम् रक्षामन्त्री ओली संलग्न भएको पुष्टि हुने बताउनुभयो । अध्यक्ष प्रचण्डले एमसीसी सम्झौतामा राष्ट्रघात हुन नदिन आफूले नै सांसदबाट त्यसमा १२ बुँदे घोषणा गराएको दोहोर्याउनुभएको छ ।